
विराटनगर । नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) विराटनगर च्याप्टरको वार्षिक साधारण सभा विराटनगरमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको आगामी कार्यकाल (सन् २०२६) का लागि रोमन कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारण सभामा सन् २०२५ का अध्यक्ष सञ्जीव सिग्देलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो एक वर्षमा उद्यमशीलता प्रवर्द्धन, नेतृत्व विकास, ज्ञान आदान–प्रदान, सामाजिक उत्तरदायित्व र नेटवर्क विस्तारलाई मुख्य प्राथमिकतामा राखेर काम गरिएको जानकारी दिए ।
अध्यक्ष सिग्देलका अनुसार आफ्नो कार्यकालमा युवा उद्यमीहरूबिच अनुभव साटासाट गर्न प्रेरणादायी अन्तरक्रिया, विभिन्न उद्योगहरूको भ्रमण, साइक्लिङ अभियान र उद्यमशीलता सम्मेलनहरू आयोजना गरिएका थिए । विशेष गरी ‘बन्जारा एग्रो फार्म’ लगायतका उद्योगहरूको भ्रमणले युवा उद्यमीहरूलाई उत्पादन प्रक्रिया र व्यवहारिक व्यवस्थापन बुझ्न सघाउ पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, स्वस्थ जीवनशैली र सामुदायिक एकताका लागि आयोजित ‘कोरा साइक्लिङ’ अभियान र राष्ट्रिय स्तरका युवा उद्यमी सम्मेलनहरूमा च्याप्टरले सक्रिय सहभागिता जनाएको थियो । ती कार्यक्रमहरूले स्थानीय उद्यमीलाई राष्ट्रिय सञ्जालसँग जोड्न र नयाँ व्यावसायिक सम्भावनाहरू खोजी गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
साधारण सभाका अवसरमा अध्यक्ष सिग्देलले उद्यमशीलतालाई केवल व्यवसायमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र नवप्रवर्तनसँग जोडेर विराटनगर र कोशी प्रदेशको उद्यमशील वातावरणलाई ऊर्जाशील बनाउने प्रयास गरिएको बताए ।
साधारण सभाले सन् २०२६ का लागि कट्टेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रितेश खनाल र द्वितीय उपाध्यक्षमा संयम श्रेष्ठ चयन भए । निवर्तमान अध्यक्ष (आईपीपी) को जिम्मेवारीमा सञ्जीव सिग्देल रहने छन् ।
कार्यसमिति सदस्यहरूमा सागरराज ढुंगाना, अर्नेष्ट श्रेष्ठ, उत्कृष्ट भट्टराई, अंगिका गिरी, अनुभव ढकाल, श्लोक रिजाल, धिरज शर्मा, हेमन्त अग्रवाल र विकिमा कर्माचार्य रहेका छन् । नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्दै युवा उद्यमीहरूको हकहित र क्षमता विकासका लागि थप प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।



















