
काठमाडौं । बाराको जितपुरसिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जितपुरसिमरा–१ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकीसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सोही पालिका–२ का सुमन थापा र बालिकाका छिमेकी प्रोग्रेस चौधरीलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । वीरगञ्ज–पथलैया चल्ने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानका चालक प्रोग्रेस चौधरी र थापा सहचालक हुन् ।
प्रहरीका अनुसार थापाले तालिम प्राप्त कुकुर र प्रहरीसँग मिलेर बालिका खोज्ने काम गरेका थिए । अनुसन्धानका क्रममा कुकुरले थापालाई संकेत गरेपछि उसलाई नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछका क्रममा बालिकाको बलात्कारपछि हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनामा आफ्नो मात्रै संलग्नता रहेको प्रहरी समक्ष सहचालक थापाले बताएको प्रहरीले जनाएको छ । मृतक बालिकाको घर नजिकै सुमनले काम गर्ने म्याजिक भ्यानका चालकको घर रहेकोले बालिका उक्त घरमा आउजाउ गर्थिन् । आइतबार बिहानबाट बालिका बेपता भएपछि परिवार र प्रहरी खोजीमा जुटिरहेको थियो ।
बिहान प्रोग्रेस चौधरीको घरबाटै सुमनले बालिकालाई फकाएर घर नजिकैको एउटा खाली घरमा लगेका थिए । त्यहाँ बलात्कारपछि बालिका बेहोस भएको र बेहोस भएपछि डोरीले झुन्ड्याएर हत्या गरेको खुलेको छ । सुमन पुनः घटनास्थल दिउँसो गएर शवलाई कपडामा बेरेर छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















