समयमै सूचना आए पनि बाढीको भयावहता नबुझ्दा ठूलो क्षति

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ०६:२५
फाइल फोटो ।

नुवाकोट । ‘बाढी आउँदैछ, सुरक्षित स्थानतर्फ जानुहोस्’—भदौ १० गते बिहान त्रिशूली नदी आसपासका बस्तीमा यस्तै सूचना फैलिरहेको थियो । टिमुरेमा भोटेकोशीले मच्चाएको वितण्डाको खबर नदीको तल्लो तटीय क्षेत्रसम्म आइपुगेको थियो । प्रहरी माइकिङ गरिरहेका थिए, स्थानीय एकअर्कालाई खबर गरिरहेका थिए । तर, धेरैका लागि त्यो सूचना सम्भावित जोखिमको चेतावनीभन्दा एउटा सामान्य खबरजस्तै बन्यो ।

विदुर नगरपालिका–१ ढुंगेका छत्र प्याकुरेल पनि त्यही भिडमा थिए । बिहानको खाना खाइसकेपछि उनी नियमित काममा जाने तयारीमा थिए । त्रिशूली नदी उनको घरबाट केही दूरीमा थियो । नदीमा बाढी आउँदा पनि आफ्नो घरसम्म त्यति ठूलो असर पुग्ला भन्ने उनले सोचेका थिएनन् ।

Advertisement

त्यसैबीच प्रहरीले माइकिङ गर्दै ढुंगेबजारवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्‍यो । प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई नजिकै पुगेर प्याकुरेलले सोधे, ‘बाढी धेरै ठूलो हो ?’

जवाफ आयो, ‘हो, धेरै ठूलो छ।’ तर, त्यो ‘धेरै ठूलो’ शब्दको अर्थ उनले त्यतिबेला महसुस गर्न सकेनन् ।

नातिनी विद्यालय जाने समय भएकाले परिवारका सबैलाई लिएर निस्कने तयारी गर्दै थिए । तयारी पूरा नहुँदै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्यो । केही समयअघि सामान्य देखिएको नदी एकाएक बस्ती पसेको भेलमा परिणत भयो । घर चारैतिरबाट पानीले घेरियो । बाहिर निस्किने बाटो बन्द भइसकेको थियो ।

प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जना घरमै फसे । स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासपछि उनीहरूको उद्धार भयो । अहिले उनको घर बाढीको त्यो भयावह दिनको साक्षी बनेर उभिएको छ । स्थानीयले त्यसलाई ‘हरियो घर’ भनेर चिन्छन् ।

‘सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेन,’ प्याकुरेलले भने, ‘बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन ।’

विदुर–१० वेत्रावतीका शशि डंगोलको अनुभव पनि उस्तै छ । तर, उनको कथा अझ पीडादायी छ । टिमुरेमा ठूलो बाढी आएको खबर उनले साथीबाट पाए । केही समयपछि वेत्रावती प्रहरी चौकीबाट पनि माइकिङ भयो—‘बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस् ।’

डंगोलले अरूलाई भने सुरक्षित हुन आग्रह गरे । बजारका पसल तथा व्यवसाय बन्द गरेर सुरक्षित स्थानमा जान उनले स्थानीयलाई आग्रह गरे । तर, अरूलाई जोखिमबाट टाढा पठाउँदै गर्दा उनी आफैँ भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लागे ।

नदीसम्म पुग्न नपाउँदै चारैतिरबाट भेल आयो । ‘बाढी हेर्न नदीतर्फ जाँदै थिएँ । एक्कासि चारैतिरबाट आएको बाढीले छोप्यो,’ डंगोलले भने, ‘केही सेकेन्डले ज्यान बच्यो ।’

बाढीमा परेर उनको खुट्टाको मांसपेशी च्यातिएको छ । त,र शरीरमा लागेको चोटभन्दा आँखैअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई बढी पीडा दिएको छ ।

‘आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो । त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिन,’ उनले भने, ‘ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो । तर, कत्रो ठूलो भन्ने थाहा भएन ।’

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङका लागि भने त्यो दिन सूचना अरूलाई बाँड्ने दौडधुपकै बीच जीवनको सबैभन्दा ठूलो क्षति बनेर आयो ।

गोरखा भूकम्पपछि विस्थापित भएर उनी करिब एक दशकदेखि उत्तरगया–५ स्थित त्रिशूली किनारको खाल्डेमा बस्दै आएका थिए । भदौ १० गते टिमुरेबाट बाढी आएको खबर पाएपछि उनी खाल्डे र नजिकैको सातबिसेमा रहेका २५० भन्दा बढी परिवारलाई खबर गर्न दौडिए ।

तर, सूचना फैलाउन थालेको करिब १० मिनेटमै बाढी बस्तीमा आइपुग्यो । तामाङ भेलबाट उम्किएर ज्यान बचाउन सफल भए । तर, उनका बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य बाढीमा परे । उक्त बस्तीका सयभन्दा बढी मानिस अझै हराइरहेका छन् ।

‘ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो। तर, कत्रो ठूलो बाढी हो भन्ने अनुमान भएन,’ तामाङले भने, ‘पोहोरको जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो । सास फेर्न नपाउँदैमा छोपिहाल्यो ।’

भदौ १० गतेको घटनाले पूर्वसूचना र त्यसको अर्थ बुझ्ने क्षमताबीचको दूरी कति भयावह हुन सक्छ भन्ने देखाएको छ । समयमै सूचना आए पनि सबैले बाढीको भयावहता नबुझ्दा ठूलो क्षति भएको छ ।

रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तलतर्फ आएको भोटेकोशीको बाढी अत्यन्त तीव्र गतिमा फैलियो । टिमुरेमा भएको क्षतिको सूचना तलका बस्तीमा पुगे पनि त्यसपछि हुने विनाशको परिमाण धेरैले अनुमान गर्न सकेनन् ।

विदुर–१ ढुंगेका विष्णु श्रेष्ठका अनुसार उनका हजुरबुबाले २०१८ सालतिर त्रिशूलीमा आएको ठूलो बाढीको कथा सुनाउने गरेका थिए । त्यतिबेला मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको उनले सुनेका थिए । तर, यसपटकको बाढीले विगतको त्यो स्मृतिभन्दा बिल्कुलै फरक दृश्य देखायो।

‘हजुरबुबाले २०१८ सालमा ठूलो बाढी आएको सुनाउनुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘अहिले त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेतसमेत बगर बनायो ।’

टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाट आसपासका बस्तीमा बाढीले छोडेको विनाशले नदीको सतहभन्दा धेरै माथिसम्म जोखिम पुग्न सक्ने देखायो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार घटनाको समयमा सूचना प्रवाह भएको थियो । तर, सफा मौसम र घाम लागेको अवस्थामा आएको ‘ठूलो बाढी’को चेतावनीलाई धेरैले तत्काल हुने गम्भीर जोखिमका रूपमा बुझ्न सकेनन् ।

‘सफा मौसम, घाम लागिरहेको वातावरणमा ठूलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन र बुझ्न सकेनन्,’ रेग्मीले भने, ‘मानवीय क्षति कम गराउन सूचना कति छिटो पुग्यो भन्नेमात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ ।’

विपद्को सूचना पाउनु मात्रै पर्याप्त हुँदैन र त्यसले संकेत गरेको जोखिम कति ठूलो छ भन्ने बुझेर निर्णय लिन सक्ने समय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने एउटा कठोर पाठ भदौ १० को बाढीले छाडेको छ ।

बाढी आउँदैछ भन्ने खबर धेरैले पाए । कसैले परिवारलाई सुरक्षित बनाउन खोजे, कसैले छिमेकीलाई खबर गरे, कसैले अरूलाई सुरक्षित ठाउँतर्फ पठाए । तर, कतिपयले बाढी आँखैअगाडि नआएसम्म त्यसको वास्तविक भयावहता महसुस गर्न सकेनन् ।

जब भेल बस्तीमा पसिसकेको थियो, त्यतिबेला धेरैका लागि सुरक्षित स्थानतर्फ जाने समय सकिइसकेको थियो । त्यसैले अब पूर्वसूचनाको अर्थ ‘बाढी आउँदैछ’ भन्ने जानकारीमा सीमित नराखी कहाँसम्म जोखिम पुग्न सक्छ, कति समयभित्र पुग्न सक्छ र तत्काल कहाँ सुरक्षित हुनुपर्छ भन्ने स्पष्ट सन्देशसँग जोड्नुपर्ने आवश्यकता भदौ १० को घटनाले देखाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×