
काठमाडौं । नेपालमा सन् २०२६ को हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २८ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको छ । तीमध्ये १३१ जनामा जेई पुष्टि भएको हो ।
प्रतिवेदनअनुसार जेई संक्रमितमध्ये ८७ प्रतिशतले खोप लगाएका छैनन् । हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ । अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेको पाइएको महाशाखाले जनाएको छ ।
सरकारले जेई प्रभावित जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ । हाल झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा जेईविरुद्धको खोप अभियान जारी छ । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई लक्षित गरिएको छ ।
कैलालीमा हालसम्म एक लाख ११ हजार ७९० र झापामा तीन लाख ४६ हजार ७७७ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन् । सरकारले नियमित खोपअन्तर्गत १२ महिनाको उमेरमा जेई खोपको एक मात्रा दिने गरेको छ । छुटेको अवस्थामा पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ । जेईबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट जोगिन पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।

























