कांग्रेस महाधिवेशनको सबै मतपरिणाम आज बेलुकासम्म आउने

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १०:२५

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज (बिहीबार) बेलुकासम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बिहीबार बेलुकासम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी कांग्रेस मिडिया सेन्टरलाई दिएका छन् ।

सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। सहमहामन्त्री र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना भने जारी छ । केही समूहको परिणाम सार्वजनिक भइसकेको छ भने बाँकीको गणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कुल सात हजार १३ मत खसेकामा ५४ मत बदर भएका थिए । थापाले ६ हजार ५८४ मत अर्थात् ९४.६ प्रतिशत मत प्राप्त गरे । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाए ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी ५३.१ प्रतिशत र ई. मधु आचार्य ३३ प्रतिशत मतसहित निर्वाचित भएका छन् । समावेशी उपसभापतिमा विनोदकुमार चौधरीले २४.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

खुला महामन्त्रीमा प्रदीप पौडेल ५९.६ प्रतिशत र उदयशमशेर राणा ३२.८ प्रतिशत मतसहित निर्वाचित भएका छन्। महिला महामन्त्रीमा डिला संग्रौला ४४.३ प्रतिशत मत प्राप्त गर्दै विजयी भएकी छन् । सहमहामन्त्रीका विभिन्न समूहमा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । महिला सहमहामन्त्रीमा प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यका विभिन्न समूहको अन्तिम मतपरिणाम पनि सार्वजनिक हुने क्रम जारी छ। केही समूहको गणना अझै बाँकी रहेकाले निर्वाचन समितिले गणनालाई तीव्रता दिएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना भइरहेको छ । बाँकी पदको गणना सम्पन्न गरी बिहीबार बेलुकासम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने समितिको लक्ष्य छ ।

गत असोज १८ गते सुरु भएको महाधिवेशनमा असोज २३ गते मतदान भएको थियो। सभापतिको परिणाम असोज २४ गते बिहानै सार्वजनिक भए पनि अन्य पदको मतगणनामा ढिलाइ हुँदा अन्तिम परिणाम आउन समय लागेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×