मंगल ग्रहको उपग्रह ‘फोबोस’बाट टुक्रा ल्याउन अन्तरिक्ष यान प्रक्षेपण

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार ११:४०

एजेन्सी ।  जापानबाट मङ्गल ग्रहको उपग्रह ‘फोबोस’तर्फ एउटा अन्तरिक्ष यान प्रक्षेपण गरिएको छ । यसले त्यहाँबाट केही टुक्रा अर्थात् धुलो सङ्कलन गरी पृथ्वीमा ल्याउने प्रयास गर्नेछ । यो अभियान सफल भएमा मङ्गल ग्रह वा यसका उपग्रहबाट नमुना ल्याएर पृथ्वीका प्रयोगशालामा परीक्षण गर्न लागिएको यो पहिलो पटक हुनेछ ।

जापानी अन्तरिक्ष एजेन्सीको नेतृत्वमा रहेको मार्स मुन्स एक्सप्लोरेसन (एमएमएक्स) मिसनले मङ्गल ग्रहका चन्द्रमाहरू कसरी बने भन्ने रहस्य सुल्झाउने अपेक्षा गरिएको छ । यो अन्तरिक्ष यान सन् २०२७ को अगस्टमा फोबोसमा पुग्ने तालिका रहेको एमएमएक्स मिसनको नमुना विश्लेषणतर्फकी उपप्रमुख सारा रसेललाई उद्धृत गरी बीबीसीले जनाएको छ । तर अहिलेसम्म फोबोसमा गएर त्यहाँको केही अंश पृथ्वीमा ल्याउने कुनै पनि मिसन सफल भएको छैन ।

सारा रसेलका अनुसार अहिलेसम्म यति सानो चन्द्रमामा कसैले पनि रोभर अवतरण गराएको छैन । रोभरले अवतरण गर्ने ठाउँको खोजी गर्नेछ । जसको सहायताले पछि एमएमएक्स अन्तरिक्ष यान आफैँ फोबोसमा अवतरण गर्न सकोस् । सतहमा पुगेपछि यसले रोबोटिक हात र दुईवटा नमुना सङ्कलकको प्रयोग गरी चन्द्रमाको केही धुलो जम्मा गर्नेछ ।

यो सामग्री एउटा सानो क्याप्सुलमा प्याक गरिनेछ । सन् २०३१ मा यो यान दक्षिण अस्ट्रेलियाको वुमेरा मरुभूमिमा अवतरण गर्दै पृथ्वीमा फर्कनेछ । पृथ्वीमा ल्याइने नमुनाको मात्रा जम्मा १० ग्राम मात्र हुनेछ । मङ्गल ग्रहबाट सामग्रीहरू पृथ्वीमा ल्याउनु लामो समयदेखि अन्तरिक्ष वैज्ञानिकको महत्वकाँक्षा रहँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×