नेपाल–भारत सीमा सुरक्षा सहकार्य बढाउने सहमति

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १८:१६

काठमाडौं । नेपाल र भारतले सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रणका लागि सुरक्षा सहकार्य बढाउने सहमति गरेका छन् । काठमाडौंमा दुई दिनसम्म चलेको नेपाल-भारत १०औँ समन्वय बैठकमा सीमा सुरक्षासम्बन्धी अघिल्ला निर्णयको प्रगति समीक्षा गर्दै रणनीतिक, कार्यगत र परिचालन तहमा सहकार्य अभिवृद्धि गर्ने समझदारी भएको हो ।

बैठकले दशगजा क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचना हटाउने संयुक्त प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । सीमास्तम्भको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि पनि सम्बन्धित संयन्त्रका निर्णयअनुसार स्थलगत समन्वय बढाउने सहमति भएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।

सीमापार आपराधिक सञ्जाल, तस्करी, मानव बेचबिखन, नक्कली नोट र लागूपदार्थको कारोबार नियन्त्रणका साथै तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न समयमै सूचना आदानप्रदान गर्ने प्रतिबद्धता दुवै पक्षले जनाएका छन् । यसका लागि सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती गर्ने र शंकास्पद व्यक्तिबारे तत्काल सूचना साझा गर्ने सहमति भएको छ ।

सीमा सुरक्षामा आधुनिक प्रविधि र विशेष तालिमको सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक-थ्रु मेटल डिटेक्टर राख्ने र आआफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषय बैठकमा उठाइएको प्रवक्ता कार्कीले बताए ।

प्राकृतिक विपद् व्यवस्थापनका लागि चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त जलउद्धार अभ्यास सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ । वैधानिक यात्रुलाई सहज बनाउन सीमा नाकामा सहायता कक्ष विस्तार गर्ने तथा मैत्रीपूर्ण खेलकुद, अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सहमति पनि भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिङ्घलले गरेका थिए । सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो समन्वय बैठक हुँदै आएको छ। आगामी बैठक भारतमा आयोजना हुनेछ । बैठकले सीमा क्षेत्रको शान्ति र सुरक्षा कायम गर्न दुवै देशका सुरक्षा निकायका इकाइले देखाएको व्यावसायिकता र सहकार्यको प्रशंसा गरेको छ ।

तपाइको प्रतिक्रिया
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, तत्काल रिहा गर्न निर्देशन
सरुवा भएका कर्मचारी पुरानै पालिकामा बसेपछि तीन पालिकाको खाता रोक्का
सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा खतिवडा निर्वाचित, अन्य पदमा सर्वसम्मत
भोटेकोशी बाढीबाट घरजग्गा, बाली र पशुपन्छीमा ७९ अर्बको क्षति
भोटेकोशी बाढीपीडितका लागि फुङलिङ नगरपालिकाद्वारा ३४ लाख बढी सहयोग
नेपाल–भारत सीमा सुरक्षा सहकार्य बढाउने सहमति
नावा खोलामा बस फस्यो, सडक ठप्प
ब्राजिलको निर्वाचन लज्जास्पद: ट्रम्प
नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी पक्राउ
कात्तिक २५ गते कोशीमा भाषा दिवस मनाइने, सरकारी कार्यालयमा दीपावली गरिने
१२० फर्म र कम्पनी कालोसूचीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.