
सुर्खेत। जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर भागेका ८ जना कैदीमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको टोलीले भागेका ८ जनामध्ये रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम रानालाई मंगलबार पक्राउ गरेको हो। उनीहरू दुवै जनामाथि जबरजस्ती करणी मुद्दा चलिरहेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार नेपाली सेनाको चौरजहारी बेसक्याम्प र प्रहरी चौकी गोतामकोटको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरू बोलेरो जिपमा यात्रा गरिरहेका बेला फेला परेका हुन् । भागेकामध्ये ६ जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
कात्तिक १४ गते राति डोल्पा कारागारबाट ४ मिटर सुरुङ खनेर ८ जना कैदी भागेका थिए । कारागारमा रहेका १७ जनामध्ये ८ जनाले आफू सुत्ने कोठाबाट पेरिमिटर वालसम्म भित्रभित्रै सुरुङ खनेका थिए ।

























