
विराटनगर । मुस्ताङस्थित मुक्तिनाथ धामबाट शुभारम्भ भएको ‘मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सव’ लाई विराटनगरमा स्वागत गरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन, वैदिक सनातन धर्मको प्रचारप्रसार तथा मुक्तिनाथ धाम र कालीगण्डकी तटीय क्षेत्रका पवित्र तीर्थस्थलहरूको महत्त्व उजागर गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो।
लक्ष्मीनारायण मन्दिर विराटनगरका स्वामी अच्युत स्वामी प्रमुख आयोजक रहेको रथयात्राको विराटनगर कार्यक्रम कोशी प्रदेशसभा सदस्य तथा कांग्रेस नेता भीम पराजुलीको संयोजकत्वमा गठित समितिले व्यवस्थापन गरेको थियो। सोमबार विराटनगर आइपुगेको रथयात्रालाई धार्मिक तथा सामाजिक क्षेत्रका अगुवाहरूले स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, धार्मिक अभियन्ता तथा समितिकी उपाध्यक्ष पुष्पलता कोइराला, सचिव कैलाश भट्टराई, सदस्यहरू भीखमचन्द सरल, बेनीगोपाल मुन्दडा र जुगलकिशोर राठीसहित विभिन्न सुरक्षा निकायका प्रमुख तथा धार्मिक–सामाजिक अभियन्ताहरूको सहभागिता थियो।
मंगलबार रथयात्राले विराटनगर–भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरबारका संरक्षित भग्नावशेषको परिक्रमा गरेको थियो। त्यसपछि धरान रोड हुँदै रथयात्रा सुनसरीतर्फ प्रस्थान गरेको छ। कार्यक्रममा रथयात्राका विराटनगर संयोजक पराजुलीले शक्तिका साधकहरूका लागि विशेष महत्त्व राख्ने दिव्य रथ विराटनगर आइपुग्नु गौरव र सौभाग्यको विषय भएको बताए।
मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यका उत्तराधिकारी करपात्री स्वामीजीका अनुसार रथयात्रा सम्पन्न भएपछि नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्र नारायण दिव्यधाममा भगवान् श्री गजेन्द्रमोक्ष नारायणको दिव्य विराट महायज्ञ आयोजना गरिनेछ।

























