सुनसरीमा लागुऔषधसहित चार जना पक्राउ

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १२:१४

विराटनगर । सुनसरीका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । इटहरी र बराहक्षेत्रबाट प्रहरीले ब्राउन सुगर (खैरो हेरोइन), ट्रामाडोल र स्पास्पेन नामक लागुऔषध बरामद गरेको हो ।

इटहरी उपमहानगरपालिका–४ हलगडास्थित सामुदायिक अस्पताल पछाडिबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रदेश अनुसन्धान टोली र सामुदायिक प्रहरी बिट हलगडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–६ घर भई हाल इटहरी–४ बस्दै आएका २० वर्षीय अविनाश रौनियार साह छन् । मंगलबार साँझ साढे ५ बजेतिर सामुदायिक अस्पताल पछाडिको बाटोमा पैदल हिँडिरहेका साहलाई शंका लागेर जाँच गर्दा उनको साथबाट दुई ग्राम ५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, बराहक्षेत्र नगरपालिका–३ नडाहाबाट प्रहरीले लागुऔषधका क्याप्सुल र ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले सोमबार राति ८ बजेतिर लक्ष्मण थिङको कोठामा खानतलासी गरेको थियो ।

प्रहरीका अनुसार उक्त कोठाबाट ट्रामाडोलका एक सय क्याप्सुल र स्पास्पेनका एक सय १० ट्याब्लेट बरामद भएको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–३ का २७ वर्षीय लक्ष्मण थिङ, २२ वर्षीय राकेश काफ्ले र २३ वर्षीय रविन कार्की छन् ।

चारै जनालाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.