
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणलाई केन्द्रमा राखेर नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले सरकारका विभिन्न मन्त्रीसँग भेटवार्ता गर्दै भ्रमणका सम्भावित एजेन्डाबारे छलफल गरेका छन् ।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले बुधबार परराष्ट्र सचिव राईसहित अर्थ, ऊर्जा तथा पूर्वाधार विकासमन्त्रीसँग छुट्टाछुट्टै भेट गरेका हुन् । भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, द्विपक्षीय सहकार्यका सम्भावना र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाउन सकिने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र सचिव राईसँगको भेटमा दुई देशबीचको उच्चस्तरीय भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे विशेष छलफल भएको थियो । हवाई, रेल, सडक तथा पुलमार्फत सम्पर्क सञ्जाल विस्तार, व्यापार प्रवर्द्धन तथा सहजीकरण, विकास सहकार्य र ऊर्जा क्षेत्रको साझेदारीलाई थप प्रभावकारी बनाउने विषय छलफलमा समेटिएका थिए । दुई देशका नागरिकबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको भेटमा नेपाल र भारतबीचको आर्थिक साझेदारी थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने उपायबारे कुराकानी भएको थियो । सो अवसरमा नेपालमा सञ्चालित विभिन्न परियोजनाको अवस्था र प्रगतिबारे पनि समीक्षा गरिएको बताइएको छ ।
त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँगको भेटमा पूर्वाधार निर्माण र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारमा सहकार्य गर्ने विषयले प्राथमिकता पाएको थियो ।
मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका लागि मिस्रीको नेपाल भ्रमण केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा हुन सक्ने छलफलका विषय र सम्भावित एजेन्डाबारे सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग परामर्श गरिएको मन्त्रालयको भनाइ छ ।
यसैबीच, भारतीय विदेश सचिव मिस्रीले बिहीबार बिहान प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उक्त भेटमा पनि भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ । दुई देशका सचिवस्तरमा प्रारम्भिक छलफल भए पनि भ्रमणको अन्तिम एजेन्डा भने तय हुन बाँकी छ ।

























