तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढे

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १४:४१

मुस्ताङ । तिहारको बिदा सुरु भएसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । लामो सरकारी बिदाको अवसर पारेर स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुग्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । तीमध्ये २७ हजार १०७ जना नेपाली र आठ हजार ७५१ जना विदेशी पर्यटक छन् ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै स्वदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । विदेशीको तुलनामा स्वदेशी पर्यटकको आगमन दुई तिहाइले वृद्धि भएको उनले बताए । तिहारको समयमा विद्यालय, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विभिन्न संघसंस्थाबाट समूह बनाएर घुम्न आउने क्रम बढेको उनको भनाइ छ ।

प्रहरीको तथ्याङ्कअनुसार मुस्ताङ पुगेका विदेशी पर्यटकमध्ये सार्क राष्ट्रका सात हजार ७१४ र अन्य देशका एक हजार ३७ जना छन् । अधिकांश पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किने गरेका छन् भने केही कोरला नाकासम्म पुग्ने गरेका छन् ।

यस वर्ष दसैँअघि र पछि भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीको जोखिमका कारण मुस्ताङमा अपेक्षाअनुसार पर्यटक आउन सकेका थिएनन् । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा पनि पर्यटक आवागमन प्रभावित भएको थियो । पछिल्लो समय मौसम अनुकूल बन्दै गएपछि पर्यटकको संख्या बढ्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पर्यटन व्यवसायीका अनुसार तिहार र छठको बिदामा विशेषगरी युवापुस्ताको घुमफिरको रोजाइमा मुस्ताङ पर्न थालेको छ । मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले मन्दिर दर्शनका लागि आउने पर्यटकले जिल्लाका अन्य पर्यटकीय स्थलसमेत घुम्ने गरेको बताए । हिउँदको चिसो बढ्न थाले पनि छठसम्म सरकारी बिदा रहेकाले स्वदेशी पर्यटकको आगमन जारी रहने उनको अपेक्षा छ ।

मुस्ताङ पुग्ने पर्यटकको पहिलो गन्तव्य मुक्तिनाथ मन्दिर हुने गरेको छ । त्यसपछि कोरला नाका, लोमान्थाङ दरबार, झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जोमसोम र मार्फालगायत स्थानमा पर्यटक पुग्ने गरेका छन् । थासाङ गाउँपालिकाका सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल पनि पर्यटकको आकर्षणमा पर्ने गरेका छन् ।

धार्मिक तथा ऐतिहासिक सम्पदा, संस्कृति, रहनसहन, भेषभूषा र जैविक विविधताका कारण मुस्ताङ पर्यटकको आकर्षणमा पर्दै आएको छ । पछिल्लो समय नेपाल–चीन सीमास्थित उत्तरी कोरला नाका पनि आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.