अमेरिकी हवाई यातायात अस्तव्यस्त, हजारौँ उडान प्रभावित

Share this
809shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार ०६:१७

एजेन्सी । अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा आएको गम्भीर प्राविधिक खराबीले देशभरको हवाई सेवा अस्तव्यस्त बनेको छ ।

संघीय उड्डयन प्रशासन (एफएए)ले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै देशव्यापी उडान रोक्ने आदेश जारी गरेपछि हजारौँ उडान प्रभावित भएका छन् । दशौँ हजार यात्रु विमानस्थलमै रोकिएका छन् ।

शुक्रबार अपराह्न करिब ४ बजे पूर्वीय समयदेखि लागू भएको ‘ग्राउन्ड स्टप’ आदेशले अमेरिकाभित्र सञ्चालन हुने, अमेरिका आउने र यहाँबाट बाहिरिने उडानहरू प्रभावित भएका हुन् । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार प्राविधिक समस्याका कारण १० हजार ३०० भन्दा बढी उडान ढिलाइ भएका छन् भने करिब १ हजार ५०० उडान रद्द गरिएका छन् ।

एफएएका अनुसार देशका २२ वटा एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार प्रणाली प्रभावित भएको थियो । पाइलट र हवाई ट्राफिक नियन्त्रकबीच सम्पर्क कायम गर्ने प्रणालीमा समस्या देखिएपछि उडान सञ्चालन रोक्ने निर्णय गरिएको हो ।

उडान रोक्ने आदेश जारी हुँदा चार हजारभन्दा बढी विमान आकाशमा थिए । एफएएले ती विमानसँग सम्पर्क कायम रहेको र सुरक्षित अवतरण गराउने प्रक्रिया अघि बढाइएको जनाएको छ । अन्तर्राष्ट्रिय उडानलाई भने परिस्थितिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गरिने बताइएको छ ।

अमेरिकी होमल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले घटनामा कुनै बाह्य वा साइबर आक्रमणको संकेत नदेखिएको बताएका छन् । उनका अनुसार समस्या एफएएको दूरसञ्चार प्रणालीमा आएको प्राविधिक अवरोधका कारण उत्पन्न भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाका बारेमा जानकारी गराइएको ह्वाइट हाउसले जनाएको छ । यातायात मन्त्री सिन डफीले प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको बताएका छन् ।

यस घटनाले अमेरिकाको पुरानो हवाई यातायात पूर्वाधारको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । यसअघि सन् २०२३ जनवरीमा एफएएको नोटाम प्रणालीमा खराबी आउँदा पनि देशभरका उडान प्रभावित भएका थिए । तर, अहिलेको घटनामा उडान नियमित हुने समयका बारेमा कुनै निश्चित जानकारी दिइएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.