
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकास्थित पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा मंसिर ५ देखि ८ गतेसम्म पर्यटन, संस्कृति र साहित्यलाई जोडेर ‘चिचिला महोत्सव’ आयोजना हुने भएको छ ।
स्थानीय पहिचानको प्रवर्धनसँगै पर्यटकीय सम्भावनाको उजागर गर्ने लक्ष्यसहित गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवले चिचिलाको प्राकृतिक सुन्दरता र पर्यटकीय आकर्षणलाई राष्ट्रियस्तरमा चिनाउनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारीबारे जानकारी दिँदै स्थानीय कला, संस्कृति, परम्परा र आर्थिक गतिविधिलाई एउटै उत्सवमा जोड्न खोजिएको बताए ।
महोत्सवमा स्थानीय कृषकका कृषि उपज, खाद्यान्न, पशुपन्छीजन्य उत्पादन तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्रीका लागि राखिनेछन् । स्थानीय उत्पादनका ३० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । शेर्पा, राई, गुरुङलगायत समुदायका मौलिक परिकारको स्वाद लिन पाइने गरी फुड फेस्टिभलसमेत सञ्चालन हुनेछ ।
चार दिनसम्म चल्ने महोत्सवमा मनोरञ्जनसँगै साहित्य र सांस्कृतिक प्रस्तुतिलाई पनि प्राथमिकता दिइएको छ । गायक राजेश पायल राईसहित विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । स्थानीय मौलिक संस्कृति झल्कने खुला नृत्य प्रतियोगिता, पालिकास्तरीय खुला भलिबल प्रतियोगिता र मत्स्यपोखरीसहित गाउँपालिकाका पर्यटकीय स्थल समेटिएको फोटो प्रदर्शनी पनि महोत्सवका आकर्षण रहनेछन् ।

साहित्यिक कार्यक्रमतर्फ नेपाली राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)सहित कोशी प्रदेशका १४ वटै जिल्लाका साहित्यकार सहभागी हुनेछन् । उनीहरूका साहित्यिक प्रस्तुति तथा सिर्जनामार्फत महोत्सवलाई सांस्कृतिक र बौद्धिक विमर्शको साझा थलो बनाउने आयोजकको तयारी छ ।
महोत्सवका लागि कोशी प्रदेश सरकारले १५ लाख र चिचिला गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेका छन् । कुल २५ लाख रुपैयाँको लागत साझेदारीमा महोत्सव सञ्चालन हुनेछ । हेल्भेटास नेपालको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले टेन्ट, स्टेज र फोटो प्रदर्शनीका सामग्री व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ ।
प्राकृतिक सम्पदा, स्थानीय उत्पादन, जातीय विविधता र सांस्कृतिक मौलिकतालाई पर्यटनसँग जोडेर चिचिलालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने महोत्सवको लक्ष्य रहेको छ ।



















