विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार ०७:५०

विराटनगर । विराटनगरलाई देशकै सक्षम लजिस्टिक हबका रूपमा विकास गर्न कार्गो रेलको नियमित सञ्चालन, पारवहन लागत न्यूनीकरण र भन्सार तथा गोदाम पूर्वाधार सुधार गर्नुपर्नेमा मोरङ उद्योग व्यापार संघले जोड दिएको छ।

संघले पारवहन व्यवस्थापन तथा कार्गो रेल सञ्चालनमा देखिएका नीतिगत, भौतिक र प्रशासनिक समस्याबारे सरोकारवाला सरकारी निकायसँग छलफल तथा अन्तरक्रिया गरेको हो।

संघका अध्यक्ष अनिलकुमार साहले विराटनगरमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी), चार लेनको अन्तर्राष्ट्रिय व्यापारिक पहुँचमार्ग, भारतका बन्दरगाहसँग जोडिएको कार्गो रेल सञ्जाल र नेपाल कस्टम यार्डजस्ता पूर्वाधार रहेकाले लजिस्टिक हब बन्न पर्याप्त सम्भावना रहेको बताए। तर, गोदाम तथा सुरक्षित भण्डारणको अभाव, उच्च कार्गो ह्यान्डलिङ शुल्क, अनलोडिङ उपकरणको कमी र पारवहन प्रक्रियामा ढिलाइले कार्गो रेल सञ्चालन प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।

अध्यक्ष साहले कार्गो सेवा शुल्क तथा पारवहन लागत घटाउने, आधुनिक गोदाम पूर्वाधार निर्माण गर्ने, बल्क कार्गो तथा कन्टेनर व्यवस्थापनलाई व्यवस्थित बनाउने र विभिन्न निकायबीच समन्वय बढाउन आग्रह गरे। नियमित कार्गो रेल सञ्चालनले राजस्व, रोजगारी र व्यावसायिक गतिविधि बढाउन सहयोग पुग्ने उनले बताए।

संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले साना परिमाणमा सामान आयात गर्ने व्यवसायीले समेत लाभ पाउने नीति बनाउनुपर्नेमा जोड दिए। वाणिज्य उपाध्यक्ष विकासकुमार बेगवानीले कार्गो सेवा शुल्क घटाउँदा उद्योगी, व्यवसायी र उपभोक्ता सबै लाभान्वित हुने बताए। महासचिव अमितकुमार सारडाले नेपाली तथा भारतीय कस्टम यार्डबीच शुल्क र ढुवानी लागतको समस्या समाधान तथा रेल सञ्चालनका लागि स्पष्ट कार्य ढाँचा र नीति आवश्यक रहेको बताए।

छलफलमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी, नेपाल रेल्वे कम्पनी, विराटनगर भन्सार कार्यालय, ट्रान्स नेपाल फ्रेट सर्भिसेसलगायतका निकायका प्रतिनिधिहरूले आ–आफ्नो कार्यक्षेत्रबारे जानकारी गराउँदै समस्याको समाधानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा उद्योगी, व्यवसायी, भन्सार एजेन्ट, सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.