नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार ०७:५२

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेपछि आज (शनिबार) देखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो।

सडक खण्डको घोप्टेभीरमा लगातार पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै थप जोखिम बढेकाले यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।

सडक बन्द हुने अवधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिने प्रशासनले जनाएको छ। यात्रु तथा सवारी चालकलाई निर्धारित समयअनुसार यात्रा व्यवस्थापन गर्न र बन्द अवधिमा उक्त सडक खण्डमा यात्रा नगर्न आग्रह गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सडक बन्द हुँदा नारायणगढतर्फबाट जाने सवारीसाधनलाई जुगेडी र आँपटारी, पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनी तथा काठमाडौं तर्फबाट आउने सवारीसाधनलाई रमाइलो डाँडामा रोकिने व्यवस्था गरिएको छ।

प्रशासनले यात्राका क्रममा समस्या भए जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सडक खण्डका सूचना अधिकारीसँग समन्वय गर्नसमेत आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.