
विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीका ३२ वर्षीय राजन दासको हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले शुक्रबार तीन जनालाई र शनिबार थप एक जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेका सबै २० देखि ३० वर्ष उमेर समूहका र विराटनगर–४ कै बासिन्दा हुन् । उनीहरू मृतक दासका छिमेकी तथा साथी रहेको खुलेको छ । नियन्त्रणमा लिइएकाहरुको पहिचान गोप्य राखिएको छ ।
प्रहरीका अनुसार मोबाइल चोरी गरेको आरोप लगाउँदै उनीहरू दासको घरमै पुगेका थिए । मोबाइल चोरीको विषयलाई लिएर दासलाई हत्या गर्ने धम्कीसमेत दिएको जानकारी परिवारले प्रहरीलाई गराएको थियो ।
नियन्त्रणमा लिइएकाहरू लागुऔषध सेवनकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूमाथि हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाइए पनि कसैले घटनामा संलग्नता स्वीकार गरेका छैनन् । सोधपुछका क्रममा उनीहरूको बयानसमेत बाझिएको प्रहरी स्रोतको भनाइ छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान भइरहेको पुष्टि गरे । ‘शंकास्पद चार जनामाथि सोधपुछ र अनुसन्धान अघि बढाइएको छ । तर, हत्यामा उनीहरूको संलग्नता यकिन भइसकेको छैन । थप अनुसन्धानबाट वास्तविकता पत्ता लाग्छ,’ उनले भने ।
स्रोतका अनुसार घटनाको प्रकृति र अहिलेसम्म संकलित प्रमाणका आधारमा नियन्त्रणमा लिइएकाहरूमाथि नै प्रहरीको अनुसन्धान केन्द्रित छ । यद्यपि, हत्यामा उनीहरूको संलग्नता पुष्टि हुन बाँकी छ ।
शुक्रबार दिउँसो विराटनगर–४ इक्राहीस्थित उखुबारीमा दासको शव फेला परेको थियो । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा भेटिएको शवको प्रकृति हेर्दा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला

























