
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ शनिश्चरे बजारबाट लागुऔषध ब्राउन सुगर र क्याप्सुलसहित एक दम्पती पक्राउ परेका छन् । प्रहरीले स्थानीय २४ वर्षीय कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङलाई शनिबार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार लागुऔषध सेवन तथा बिक्रीवितरण भइरहेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । टोलीले कैलाशको घरमा खानतलासी गर्दा खाटमुनि झोलामा लुकाएर राखेको प्लास्टिकबाहेक ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ, १२ हजार ९२५ रुपैयाँ नगद र एनआईटीजेडएएससीईएनटी–१० लेखिएको १३ पत्तामा रहेका १२८ क्याप्सुल बरामद गरेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























