‘किलर रोबोट’ नियमन गर्न १२८ देश सहमत

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १९:०४

एजेन्सी । घातक स्वायत्त हतियार अर्थात् कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित ‘किलर रोबोट’ को प्रयोग नियमन गर्ने अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्रसङ्घका १२८ सदस्य राष्ट्र सहमत भएका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा पाँच दिनसम्म चलेको वार्तापछि आगामी दुई वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानुनी खाका तयार पार्ने प्रक्रिया अघि बढाउने सहमति जुटेको समाचार संस्था एएफपीले जनाएको छ ।

तर, स्वायत्त हतियारविरुद्ध अभियान चलाइरहेका अन्तर्राष्ट्रिय संस्थाहरूले भने यो सहमति अपर्याप्त रहेको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार एआईबाट सञ्चालित यस्ता हतियारले युद्धको मैदानमा मानव जीवन र मृत्युसम्बन्धी संवेदनशील निर्णय आफैँ गर्न सक्ने भएकाले गम्भीर मानवीय जोखिम निम्त्याउन सक्छन् ।

त्यसैले यस्ता हतियारको प्रयोगमा नियम विस्तार गरेर मात्र नपुग्ने र कानुनी रूपमा बाध्यकारी व्यवस्था आवश्यक रहेको अभियानकर्मीहरूको जोड छ । यसअघि अमेरिका र रुसलगायत सैन्य प्रविधिमा अग्रणी केही देश कडा प्रतिबन्धको पक्षमा नरहेका कारण यस विषयमा अन्तर्राष्ट्रिय सहमति जुटाउन लामो समयदेखि कठिनाइ हुँदै आएको थियो ।

‘स्टप किलर रोबोट्स’ अभियानकी कार्यकारी निर्देशक निकोल भ्यान रुइजेनले प्रभावकारी कानुनी व्यवस्था निर्माणमा ढिलाइ हुँदा विश्वभरका सर्वसाधारण गम्भीर जोखिममा पर्न सक्ने चेतावनी दिएकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.