
काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका आरोपीलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई मंगलबार थप दुई दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो ।
मलेसिया जाने कामदारसँग गैरकानुनी रूपमा बायोमेडिकल सर्भिस शुल्कका नाममा म्याक्रोटेक प्रालिले रकम असुलेको आरोप छ । मेडिकल स्क्रिनिङका नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन चार पटक मन्त्रीस्तरीय निर्णय भएको अनुसन्धानबाट खुलेको छ। ती निर्णय तत्कालीन मन्त्रीद्वय यादव र कुँवरको कार्यकालमा भएका थिए । स्वास्थ्य परीक्षणका लागि काठमाडौँका ३६ वटा मेडिकललाई तोकिएको थियो ।
यस प्रकरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारी पहिलो चरणमा पक्राउ परेका थिए ।
मङ्सिर २ गते पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित थप छ जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्वसचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुङ्गाना र उपसचिव निर्मला गुरुङ पनि छन् ।
सीआईबीले आरोपीहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ । २०७५ सालको अन्त्यदेखि आरोपीहरूले मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट असुल्दै आएको आरोप छ । त्यतिबेलाको विनिमय दरअनुसार एक कामदारबाट म्याक्रोटेक प्रालिले ३ हजार १६० रुपैयाँ असुलेको थियो ।

























