
विराटनगर । सप्तकोशी नदीमा आएको बाढी घटेको छ । ब्यारेज निर्माण भएयता दोस्रो ठूलो बाढी बिस्तारै घट्न थालेको हो ।
सन् १९६२ मा निर्माण सम्पन्न भएको ब्यारेजमा सन् १९६८ मा अत्याधिक बाढी मापन भएको थियो । आज बिहान ५६ वर्षयता कै उच्च मापन भएको कोशीमा विस्तारै बाढी घट्न थालेको कोशी भुआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले बताए ।
आइतबार बिहान कोशी ब्यारेजमा बाढीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो । जुन १९६८ अक्टोबरयताको धेरै हो । सिटौलाका अनुसार १९६८ अक्टोबर ५ मा कोशीमा ७ लाख ८८ हजार २ सय क्युसेक बहाव मापन भएको रेकर्ड छ । बिहानबाट भने कोशीको बहाव घट्न थालेको छ । जोखिम कायमै रहेका कारण ब्यारेजका ५६ वटै ढोका खुला छन् ।
२०६५ साल भदौ २ गते कोशीको पूर्वतर्फको बाध फुटेर बस्तीमा पस्दा १ लाख ६८ हजार क्युसेक बाढी मापन भएको थियो । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको बहाव थेग्नसक्ने क्षमता छ । तर ब्यारेज भन्दा उत्तरतर्फ बालुवाले पुरिएका कारण क्षमतामा बहाव थेग्न सक्ने अवस्था छैन ।
वर्षाैपछि आएको ठूलो बाढीका कारण उदयपुरको बेलका नगरपालिका २ को बानडाँडा, बुधबारे, भागलपुर लगायतका बस्तीमा कोशीको बाढीका कारण डुबान भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढा टापुमा सोमबार बिहानदेखि कोशीको बाढी पसेको छ । बेलका र ककालिनीमा पानीको बहाव धेरै भएपछि ओभर फ्लो भएर पसेको सिटौलाले बताए ।
भारतको प्रक्षेपण मिल्यो
भारतीय पक्षले कोशीको बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेको भन्दै कोशीसँग जोडिएका भारतको ८ जिल्लामा अलर्ट नोटिस जारी गरेको थियो । बाढीको बहाव आकलन नजिक ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । पानीको बहावको इकाइलाई क्यूसेक भनिन्छ । सामान्यतया पानीको बहाव कति छ भनेर थाहा पाउन क्यूसेकको प्रयोग नदीहरूमा गरिन्छ । यो प्रतिसेकेन्डमा मापन हुन्छ ।
भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा नोटिस जारी गरेका थिए । बाढीका कारण भारतको ८ जिल्लाको सयौ परिवार विस्थापित भएको बताइएको छ ।

























