
काठमाडौं । बाढी पहिरोमा प्रभावकारी भूमिका नखेल्दा धेरै क्षति भएको भन्दै गृह मन्त्रालयले २ जना सीडीओ (प्रमुख जिल्ला अधिकारी)लाई गृह मन्त्रालय तानिएको छ ।
धादिङका प्रजिअ राजेन्द्रदेव पाण्डे र काभ्रेका सूर्यप्रसाद सेढाईंलाई गृह मन्त्रालय तानिएको हो । धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन संचालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र संचारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ ।

























