बार अध्यक्ष घिमिरेकाठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध सर्वाेच्च अदालतले अदालतको अवहेलना मुद्दामा कारवाहीका लागि प्रतिवेदन पेश गरेको छ ।
सर्वोच्च अदालतले बार अध्यक्ष घिमिरेमाथि अवहेलनामा कारवाही हुनुपर्ने भनी तयार गरेको प्रतिवेदन अदालतमा पेश भएको हो ।
प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षमा असोज ११ गते शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो ।
सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा लेनदेन भएको भनि बार अध्यक्षले अभिव्यक्ति दिएका थिए ।
न्यायपरिषदको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि आधारहीन आरोप लगाएको भन्दै खण्डन गरेको थियो ।
‘मिति २०८१।०६।११ गतेको निर्णयद्वारा उच्च अदालत पाटनका माननीय मुख्य न्यायाधीश श्री नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका माननीय मुख्य न्यायाधीश श्री नित्यानन्द पाण्डेलाई नियुक्तिको लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको विषयलाई अन्यथा अर्थ लगाई कपोलकल्पीत, दुरासयपूर्ण एवं वदनियतपूर्वक सम्माननीय प्रधान न्यायाधीशज्यूलाई अनर्गल र आधारहीन लान्छना लगाउने प्रवृत्त धारणाबाट ग्रसित भइ वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरेद्वारा गरिएको सार्वजनिक टिप्पणीप्रति यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

























