
विराटनगर । फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित ‘सेनेटरी ल्याण्डफिल्ड साइट’ निर्माणका लागि बजेट माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ (हर्कराज राई)ले खानेपानी मन्त्रीलाई पत्र पठाएका छन् ।
‘ल्याण्डफिल्ड साइट’ धरानको फोहोरो जंगलमा फालिदै आएको छ । अव्यवस्थित हिसाबले फालिने फाेहाेरका कारण काेशी राजमार्गकाे धरान-इटहरी खण्डमा दुर्गन्ध फैलिएकाे छ ।
फोहोर व्यवस्थापन गर्न गाह्रो भएको भन्दै साम्पाङले व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि ‘पुग्दो पैसा हाल्दिनु पर्यो’ भन्दै पत्र पठाएका हुन् ।‘
‘उपर्युक्त सम्बन्धमा धरानको व्यवस्थित ‘सेनेटरी ल्याण्डफिल्ड साइट’ बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्यो । फोहोर जंगलमा फान्दा व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ। साथै, फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ,’ उनले पत्र लेख्दै भनेका छन् ,‘ बर्सेनि सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो लागेर बिजोग हुन्छ । तार घेरा लाउन लाको, बनका मान्छेहरु आएर डोजरले भत्काइदिए । यो विषयमा पत्र पठाको पनि धेरै भयो । अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रिया मिची, प्रकियामाथि प्रक्रिया अध्ययन नै अध्ययन मात्रै चाहिएको छ। लौन सरकार खत्रा लाग्नु पर्याे ।’


























