
विराटनगर । एक महिनाअघि २० रुपैयाँ प्रतिकिलो पाइने भिण्डीलाई अहिले एक सय रुपैयाँ पर्छ । ४० रुपैयाँ प्रतिकिलो पर्ने टमाटरको बजार मूल्य पछिल्लो समय १५० रुपैयाँ पर्छ । भिण्डी र टमाटर मात्र होइन, अन्य सबै तरकारीको मूल्य अकासिएको छ । असोज दोस्रो साता परेको झरीका कारण मुल्य बढेको हो ।
लगातार परेको पानीका कारण स्थानीय तरकारी खेतमै डुबेर कुहिएको छ भने बाढी पहिरोका कारण पहाडबाट आउने तरकारीमा पनि घटेको छ, जसकारण विराटनगर लगायत आसपासका तरकारीको मूल्य छोइसक्नु छैन ।
बजारमा ४० रुपैयाँ पर्ने आलु १ सय, ५० रुपैयाँ केजी पर्ने प्याज अहिले एक सय ५०, ४० रुपैयाँ पर्ने गोलभेडा १ सय ५०, ६० रुपैयाँ पर्ने पर्वल १ सय ५०, ३० रुपैयाँ पर्ने घिरौला ७०, ६० रुपैयाँ पर्ने फूलकोबी २ सयदेखि २ सय ५०, ५० रुपैयाँ प्रतिकिलो पर्ने साग अहिले डेढ सय देखि २ सय रुपैयाँ पुगेको छ ।
एक महिना अगाडि प्रतिकिलो ५० रुपैयाँ पर्ने बोडी अहिले एक सय रुपैयाँ पुगेको छ । एक महिना अघि ८० रुपैयाँ केजी पर्ने घ्यू शिवी अहिले डेढसय देखि दुईसय रुपैयाँ पुगेको छ । एक महिना अगाडि ३० रुपैयाँ केजी पर्ने भन्टा अहिले १ सय, ३० रुपैयाँ केजी पर्ने तिते करेला अहिले १ सय रुपैयाँ , ४० रुपैयाँ पर्ने काक्रा अहिले १ सयदेखि डेढ रुपैयाँ पुगेको छ । पहिले किलोमा किन्ने उपभोक्ता तरकारीको मूल्य आकासिएपछि अहिले पाउ किनेर चित बुझाउन बाध्य छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ३ बस्ने मनिषा पौडेलले विराटनगरको पुरानो गुद्रीमा तरकारी किन्दै गर्दा मुलुकीकर्मीसँग कुरा भनिन्,‘ सरकारी जागिरे हुँ, सानोतिनो सरकारी जागिरेलाई जिविकोपार्जन गर्न समस्या भयो, तरकारी लगायत खाद्यान्नको मूल्य बढेर अकासिएको छ, आफ्नो भने तलब ज्यूका त्युँ छ, कसरी परिवार पाल्ने होला ।’
विराटनगर– ४ ढाटकी की सरिता कार्की फ्याक्ट्रीमा काम गर्छिन्, उनी पनि बजार भाउ आकासिएका कारण चिन्तित छिन् । ‘तरकारी छोइनसक्नु छ, अलिअलि बारीमा लाको तरकारी पनि लगातार आएको पानीले डुबाएपछि बारीमा अहिले टिपेर पकाऊँला भन्ने केही छैन, सबै कुरा किनेर खानु पर्छ तर महँगाई यति धेरै बढ्यो किन्नै नसकिने भइयाे,’ उनले भनिन् ।
लगातारको वर्षाका कारण स्थानीय स्तरमा उत्पादन भएको तरकारी डुबेको छ भने पहाडबाट आउने तरकारीमा पनि कमी भएपछि तरकारीको मूल्य बढेको व्यवसायी शैलेशकुमार साह बताउँछन् । उनीहरूले बाढी, पहिरोका कारण तराईका क्षेत्रमा तरकारी आइपुग्न समय लाग्ने र ढुवानी खर्च बढी हुने गरेकाले तरकारीकाे भाउ बढेकाे बताए ।
सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए पनि व्यवस्थित खेती हुन नसक्दा बाढी, पहिरो तथा बेमौसमी वर्षाका कारण उत्पादन भएको तरकारी बारीमै नष्ट हुँदा तरकारीको मूल्य बढेको हो भने बाढीपहिरोबाट कारण देखाएर दसैं, तिहार जस्ता चाडपर्वका कारण पनि तरकारीको मूल्य बढेको हाे ।

























