
भोजपुर । संखुवासभा र भोजपुरको सिमाना भएर बग्ने अरुण नदीमा संचालित फेरी यस वर्ष दसैंमा पनि चल्न सकेन ।
बर्खाको समयमा फेरी बन्द भएको थियो । बर्खा सकिएर दसैं सुरु भइसक्दा पनि फेरी संचालनमा आउन सकेकाे छैन । भाेजपुरको षडानन्द नगरपालिका–६ र संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सत्तीघाटमा संचालित फेरी बर्खा लागेर नदीमा पानीको बहाव बढेसँगै बन्द भएको थियो ।
नदीमा बहाव घटे पनि अहिलेसम्म बाढीको असर कायमै छ । पानी धमिलो छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासका अनुसार दसैंमा चलाउन सकिन्छ कि भनेर बुधबार परीक्षण गरिएको थियो । तर, सम्भव भएन । वर्षा रोकिए अबको १ सातामा फेरी संचालन आउने उनले बताए ।
पहाडी क्षेत्रमा अझै वर्षा भइरहेको छ । यस वर्ष हिले दसैं हुने चिन्ता छ । वर्षा नियमित भएर नदीमा पानी सङ्लो हुन नसक्दा फेरी संचालनमा समस्या भएको मेयर उदासले बताए ।
उनका अनुसार दसैं मनाउन सत्तीघाट नाका हुँदै धेरै जना आउने गरेका छन् । फेरीमा राखेर सवारीसाधन पनि तार्ने गरिन्थ्यो । दसैं मनाउन आउनेहरुले अहिले फेरीको प्रयोग गर्न नपाएको भोजपुरको दिङ्लास्थित होटल व्यवसायी संघका अध्यक्ष नरेन्द्र तामाङले बताए ।
अरुण नदीमा फेरी बन्द भएपछि लामो समयदेखि यातायात सेवा अवरुद्ध भएको छ । फेरी बन्द भएपछि भोजपुरको उत्तरी क्षेत्रमा खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री आयात तथा सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको अध्यक्ष तामाङले बताए ।
फेरी बन्द भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिच्छो गाउँपालिका जाने यात्रुहरु अरुण नदीमाथिको पुल पैदल हिँडेर तर्न बाध्य छन् । सामान भरियालाई बोकाएर वारीबाट पारी पुर्याउनुपर्ने अवस्था छ ।
अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो । सो नदीमा निर्माणाधीन अवस्थामा रहेका दुई वटा पक्की पुल पनि अझै निर्माण सम्पन्न हुनसकेको छैन ।
अरुण नदीको सतीघाटमा फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको थियो । फेरीले एकै पटकमा ४ वटासम्म सवारीसाधन तार्ने गरेको थियो ।
फेरीबाट दैनिक १ सय वटा जति साना–ठूला सवारीसाधन अरुण नदी तार्ने गरिन्थ्यो । होटल व्यवसायी संघका अध्यक्ष तामाङले फेरीका बन्द भएका कारण लामो समयदेखि सर्वसाधारण समस्यामा परेको सुनाउँछन् ।
भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने फेरी पुनः सञ्चालनमा आउन केही दिन लाग्ने मेयरको भनाइ छ ।
अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तार्ने एकमात्र माध्यम फेरी बनेको थियो ।
अध्यक्ष तामाङका अनुसार फेरी बन्द भएपछि भोजपुरको उत्तरी क्षेत्रको चहलपहल नै बन्द हुन्छ । फेरी संचालन हुन नसकेकै कारण यस वर्ष दसैंमा पनि दिङ्ला बजार सुनसान जस्तै रहेको उनले बताए ।
मेयर उदासले फेरी बन्द भएकै कारण दसैंमा पनि ढुवानी महँगो परेको बताउँछन् । भरियालाई बोकाएर पुलबाट सामान वारपार गर्नुपर्दा ढुवानी खर्च धेरै लाग्ने गरेको उनको भनाइ छ । उनका अनुसार फेरी चलेको भए भरियालाई बोकाएर सामान वारपार गर्नुपर्ने बाध्यता हट्ने थियो । सर्वसाधारणलाई सहज हुने थियो ।
ग्रामीण क्षेत्रका सडकहरु मर्मत सम्भार भए पनि पानीले बिगारेका कारण थप समस्या भएको अध्यक्ष तामाङको भनाइ छ । उनका अनुसार संखुवासभा हुँदै भोजपुरको उत्तरी क्षेत्र आउने सर्वसाधारणले सडकका कारण सवारीसाधन संचालन हुन नसक्दा सास्ती भोग्नु परिरहेको छ ।
‘जताततै सडक भत्किएको छ । सवारीसाधन संचालन हुनसक्ने अवस्था छैन,’ उनले भने, ‘बाटोका कारण सर्वसाधारण दसैं मनाउन सहज हिसाबले घर पुग्न पाएनन् । निक्कै कष्टका साथ पैदलयात्रा गर्नुपर्ने अवस्था छ ।’


























