
काठमाडौं । टीकाको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चहलपहल बढेको हो ।
मान्यजनको हातबाट टीका ग्रहण गर्न जानेहरूको पनि चोक चोकमा चहलपहल देखिन्छ । यसपटक अघिल्लो वर्षको तुलनामा काठमाडौं खासै सुनसान नबनेको स्थानीय बताउँछन् ।
बाढी पहिरोका कारण गाउँ घर फर्कनेको संख्या यस वर्ष घटेकाले पनि सुनसान नबनेको स्थानीय पूर्णकला शाक्य बताउँछिन् ।
दशैंमा सुनसानजस्तै देखिने सडकहरूमा सवारी साधनको संख्या बाक्लिएको छ । उपत्यकाका सडकमा आइतबार विशेष गरी निजी चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।
सार्वजनिक सवारी साधन भने न्यून नै देखिएका छन् । जसले सार्वजनिक सवारी प्रयोग गरी आवतजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ । दशैँ मनाउन गएकाहरू पनि उपत्यका भित्रिन थालेका छन् ।

























