
विराटनगर । मंगलबार बिहानको रातिदेखि नै वर्षा भएका कारण किसानले धान काट्न बोलाएको खेताला फिर्ता गरेका छन् ।
पूर्वी मोरङका किसानले पाकेको धान बाली भित्र्याउनका लागि आज खेताला बोलाएका थिए, तर बिहानको रातिदेखि नै पानी परेका कारण खेताला फिर्ता गरेको कृषक लिला शर्माले बताइन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली भइरहेको छ । पोस्ट मनसुन चलिरहेका कारण केही स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ ।
असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उनको भनाइ छ ।
आज लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

























