
पोखरा । जिल्ला प्रशासन कास्कीले पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
आदेश पालना नगर्नेलाई कानुनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।
शहिदचोक र गैरापाटन आसपासको क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । शहिदचोकदेखि वाइचोक, बैदाम फिस्टेलगेट, मालपोत कार्यालय कास्की र मुस्ताङचोकसम्म निषेधाज्ञा जारी भएको छ ।
त्यस्तै, गैरापाटन क्षेत्रको पालिखेचोकदेखि नवीन माविसम्म निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञा जारी भए पनि शहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले रवि दाईलाई न्याय दे भन्दै नाराबाजी गरेका छन् ।


























