नारायण चिमरिया र राजन लिम्बू ।विराटनगर । मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरियालाई पठाइएको छ । उनी सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ हाजिर भएका छन् ।
जिल्लामा हाजिर हुनासाथ विभिन्न युनिटका इन्चार्जहरुलाई बोलाएर निर्देशन दिएका छन् । जिल्लाको शान्ति सुरक्षादेखि लिएर पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् ।
नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा कार्यरत चिमरियालाई काजमा मोरङ खटाइएको हो । नेपाली कांग्रेसका नेताको ‘भिटो पावर’ लगाएर उनी मोरङ आउन सफल भए ।
यसअघिका मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालय झिकाएर उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाउने निर्णय भएको थियो । तर, मोरङ हाजिर हुन नपाउँदै लिम्बूको काज रद्ध गरियो । लिम्बूको काज रद्ध गरेर चिमरियालाई पठाइयो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्की प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठाइएको बताउँछन् । अफिसको आवश्यकताका कारण लिम्बूलाई मोरङ पठाउन नसकिएको उनको भनाइ छ ।
तर, शनिबार साँझ मात्रै मुलुकी खबरसँग कुरा गर्दै डीआईजी कार्कीले लिम्बूबाहेक मोरङमा अरुलाई नपठाउने बताएका थिए । उनको कुरा लामो समय टिक्न सकेन । अर्थात, राजनीतिक हस्तक्षेपका अगाडि प्रहरी प्रधान कार्यालयको केही लागेन ।
स्रोतका अनुसार कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकु्वेर खापुङले एसपी लिम्बूलाई मोरङ ल्याउन केही समयदेखि कसरत गरिरहेका थिए । कुनै पनि बहानामा कार्कीलाई हटाएर लिम्बूलाई मोरङ ल्याउने उनको चाहना रहेको स्रोतको भनाइ छ ।
नभन्दै एसपी कार्की विवादमा परेर हेडक्वाटर तानिए । लगत्तै लिम्बूको काज भएपछि डीआईजी खापुङको चाहना पनि पूरा भएको थियो । तर, ३ दिनमै काज रद्ध भयो । लिम्बूको काज रद्ध हुनुको पछाडि २ वटा कारण महत्वपूर्ण मानिन्छ ।
डीएसपी हुँदा उनी प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पीएसओ (अंगरक्षक) थिए । ओली अहिले प्रधानमन्त्री रहेकै मौका छोपेर मोरङ आइहाल्न खोजेका थिए । तर, चिमरिया बाधक बनिदिए ।
ओलीले पठाएका एसपीले एमालेबाहेकको कुरा नमान्ने बुझाइ कांग्रेसको थियो । कांग्रेसका नेताहरुले लिम्बूलाई मोरङ पठाउन नहुने भनेर गृहमन्त्री रमेश लेखकलाई दबाब दिएका थिए । नभन्दै राजनीतिक हस्तक्षेपसामु प्रहरी प्रधान कार्यालय निरिह बन्यो । कांग्रेस नेताहरु गृहमन्त्री लेखकलाई भनेर लिम्बूको सरुवा रोक्न सफल भए ।
लिम्बूलाई ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले ज्यान मार्ने धम्की दिएका थिए । हाङगाम अहिले प्रदेशको मन्त्री छन् । तत्कालीन डीएसपी लिम्बू र उनका परिवारलाई ‘खोजीखोजी’ मार्ने धम्की हाङगामले दिएका थिए ।
लिम्बूको मोरङ यात्रामा ‘ब्रेक’ लाग्नुको पछाडि प्रधानमन्त्री ओलीसँगको निकटता र हाङगामसँगको लफडा प्रमुख कारण रहेको प्रहरी उच्च स्रोतले बतायो । स्रोतका अनुसार कांग्रेस नेताले लिम्बूलाई रोकेर गृहमन्त्रीमार्फत चिमरियाको नाम प्रस्ताव गरेपछि प्रहरी प्रधान कार्यालयले त्यसमैमा समर्थन जनाएर निर्णय लिएको हो ।
एसपी लिम्बूलाई मोरङ आउन नदिन कांग्रेसले चलखेल गरिरहेको विषयमा यसअघि नै मुलुकी खबरले समाचार प्रकाशन गरिसकेको छ । विशेष गरेर कांग्रेसको पनि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु लिम्बूलाई मोरङ आउन नदिन खुलेरै लागेका थिए ।

























