हत्या स्वीकार गर्ने २ जनाबीच जब अदालतमै मुक्कामुक्की सुरुभयो…

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ७, बुधबार ०९:१८
सन् २००५ मा सफाइ पाएपछि अदालतबाट बाहिर निस्किँदै रिपुदमन सिंह मलिक (बीचमा)

काठमाडौं । सन् १९८५ मा एअर इन्डियाको विमानमा भएको बम विस्फोटनको मुद्दामा निर्दोष साबित भएका एक व्यक्तिलाई गोली प्रहार गर्ने २ जनाले क्यानडाको एक अदालतमा आफू दोषी भएको स्वीकार गरेका छन् ।

ट्यानर फक्स र होजे लोपेजले सिख व्यापारी रिपुदमन सिंह मलिकको सन् २०२२ मा हत्या गरेको अभियोग क्यानडाको एक अदालतमा स्वीकार गरेका हुन् ।

सिंहको सुनियोजित हत्या गरेको अभियोगमा मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा अघिल्लो दिन नै उनीहरूले ब्रिटिश कोलम्बियाको सर्वोच्च अदालतमा ज्यान मार्ने कसुर गरेको स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।

तर त्यसपछि दुई अभियुक्तबीच न्यूवेस्टमिन्स्टरस्थित अदालतको कक्षभित्रै घम्साघम्सी भएको थियो । भ्यान्कूभर सन पत्रिकाका अनुसार फक्स र लोपेजबीच दुई मिनेटजति एकअर्कालाई मुक्का हानेका थिए ।

सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्दै उनीहरूलाई छुट्ट्याए र भुइँमा निहुरिएर बस्न लगाएका थिए । त्यसपछि उनीहरूलाई हतकडी लगाएर बाहिर लगिएको थियो ।

अक्टोबर ३१ का लागि तोकिएको इजलासले उनीहरूको मुद्दामा फैसला सुनाउने छ । हत्या गरेको कसुर स्वीकार गरेको हुनाले उनीहरूले स्वतः आजीवन कारावासको सजाय पाउँछन् ।

सन् २०२२ को एप्रिल १४ मा मलिकलाई ब्रिटिश कोलम्बियाको सरीमा उनको पारिवारिक व्यवसाय रहेको ठाउँबाहिर कैयौँ पटक गोली हानिएको थियो । प्रहरीले नजिकै एउटा जलेको गाडी भेटेको थियो ।

विमान बम विस्फोटन प्रकरणमा मलिकले सन् २००५ सफाइ पाएका थिए । सन् १९८५ को जुन २३ मा क्यानडाबाट भारतका लागि उडेको एअर इन्डियाको उडान नं १८२ भएको विमानमा आइरिश तटनजिकै विस्फोटन भएको थियो ।

विस्फोटनका कारण विमानमा सवार सबै ३२९ जनाको ज्यान गएको थियो । तीमध्ये धेरैजसो भारतमा आफन्त भेट्न हिँडेका क्यानडाका नागरिकहरू थिए । विमानमा बम विस्फोटन भएकै समयमा जापानमा दोस्रो बम विस्फोटन भएको थियो । उक्त घटनामा ब्यागेज हेर्ने दुई कर्मचारीको पनि मृत्यु भएको थियो ।

सन् १९८४ मा भारतमा सिखहरूको पवित्र तीर्थस्थल स्वर्णमन्दिरमा आक्रमण भएपछि त्यसको जबाफ दिन ती विस्फोटनहरू गराइएको थियो । उक्त घटनालाई क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा घातक आतङ्कवादी आक्रमण मानिन्छ ।

दुई वर्षको सुनुवाइपछि मलिक र उनीसँगै आरोपित अजायब सिंह बागरीले आमहत्या र दुइटा बम विस्फोटन गराउने षड्यन्त्र गरेको अभियोगबाट सन् २००५ मा सफाइ पाएका थिए ।

उनीहरूले सोमबार दिएको बयानका अनुसार फक्स र लोपेजले मलिकको हत्या गर्ने ‘काम’ पाएका थिए । तर कसले उनीहरूलाई पैसा दिएर मलिकको हत्या गर्न लगाएको थियो भन्ने चाहिँ कुरा प्रमाणित हुन सकेको छैन ।

मलिकको परिवारले एउटा विज्ञप्ति जारी गर्दै हत्याको निर्देशन दिने व्यक्तिलाई न्यायको कठघरामा ल्याउनका लागि प्रहरीलाई सघाउन आग्रह गरेको छ । – बीबीसी

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.