
विराटनगर । कोशी प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
असोज दोस्रो साताको वर्षाले प्रदेशमा भएको क्षतिको पुनःनिर्माण गर्न प्रदेश सरकारले स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो । करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दीपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले बिहीबार संयुक्त रुपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेका छन् ।
बाढी, पहिरो तथा डुबानले भएको क्षतिको द्रुत गतिमा पुनःनिर्माण गर्न आवश्यक रहेकाले सहयोग गरिएको फाउण्डेशनले जनाएको छ । चेक बुझ्दै मुख्यमन्त्री कार्कीले पुनःनिर्माण तथा मर्मत सम्भारका लागि फाउण्डेशनले सहयोगको सुरुवात गरेकोमा धन्यवाद दिए ।
मुख्यमन्त्री कार्कीले सबै क्षेत्रलाई कोषमा सहयोग गर्न समेत आग्रह गरे । यस कोष प्रदेशको पुनःनिर्माणमा महत्त्वपूर्ण हुने उनले बताए ।
करुणा फाउण्डेशनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका स्थानीय तहमा अपांगता रोकथाम तथा पुनःस्थापना सम्बन्धी काम गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राई र प्रमुख सचिव केदारनाथ शर्मासमेत सहभागी थिए ।


























