अलपत्र अवस्थाकाे नमुना बस्तीखोटाङ । खोटाङमा भूकम्प प्रभावितका लागि भन्दै निर्माण गरिएको बस्ती अलपत्र भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कको बसेरीमा निर्माण गरिएका एकीकृत बस्ती अलपत्र परेको हो ।
सरकारी आवास अलपत्र हुँदा २०७२ बैशाख १२ गतेकाे भूकम्प प्रभावित भने चर्किएकाे घरमा मर्मत गरेर बसेका छन् । बस्तीमा १९ वटा घर बनाइएको छ । बीस घर भूकम्पपीडित र चार घर अन्य गरि २४ परिवारका लागि २४ वटा घर बनाउने योजनासहित ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ निर्माण सुरु भएको थियो ।
२०७५ असोज ४ गते तत्कालीन नगर प्रमुख दीपनारायण रिजालले शिलान्यास गरेको बस्तीको काम २०७७ सालमा सक्ने लक्ष्य थियो । तर २०८१ कात्तिकसम्म बस्तीको काम अधुरै छ । भएको काम पनि गुणस्तरहित छन् ।
झ्यालढोका थुन्न तथा ट्रस भवनभित्रको भूइँ ढलान गर्न बाँकी रहेको यो बस्तीको दुईवटा ट्रस भवनमा मात्र अहिले मानिस बसेका छन् ।
‘रामनाथ बहुउद्देश्य एकीकृत नमूना बस्ती’ नाम दिइएको एकीकृत बस्तीमा शौचालय र खानेपानीको व्यवस्था छैन । सिङ्गल वाल (एउटामात्र इँटा प्रयोग गरिएको गाह्रो) लगाइएको आठ फिट अग्लो भवनमा फलामे ट्रस अड्याएर कमसल किसिमको (२७ एमएमको) जस्तापाताको छाना हालिएको छ ।
एक करोड ५० लाख लगानीमा पूरा हुने भनेर निर्माण सुरु गरिएको एकीकृत बस्तीका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरण भवन एकाइ डिभिजन कार्यालय ओखलढुङ्गाले ६० लाख र घेराबारका लागि कोशी प्रदेश सरकारले १५ लाख लगानी गरेको छ । बीस घर भूकम्पपीडितका तीन–तीन लाखको जम्मा ६० लाख रकम पनि सोही स्थानमा खर्च भएको छ ।
एकीकृत बस्ती निर्माणका लागि स्थानीय शारदाप्रसाद ढकालले २५ लाख मूल्यको साढे सात रोपनी जग्गा उपलब्ध गराएका थिए ।
विभिन्न कार्यक्रम गर्न आवश्यक सामुदायिक भवनसमेत निर्माण गरिने भनिएको उक्त एकीकृत बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उद्यान, कक्षा ५ सम्म पढाइ हुने अङ्ग्रेजी माध्यमको विद्यालय, मन्दिर, खेलमैदानलगायत रहने जनाइएको थियो । उक्त साँधुरो ठाउँमा अहिले बसोबासका लागि भनेर १९ ट्रस भवन र एउटा सामुदायिक भवनबाहेक कुनै संरचना निर्माण गरिएको छैन ।
निर्माणाधीन एकीकृत बस्तीका लागि आवश्यक रकम अभाव भएकै कारण सञ्चालन गर्न नसकिएको निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताए ।
बसेरीमा निर्माण गरिएका एकीकृत बस्ती मापदण्ड विपरित रहेकाले सञ्चालनमा आउन नसकेको स्थानीय बासिन्दा एवम् नेपाली कांग्रेस विजयखर्कका सभापति सन्तोष राईले बताए।
निर्माणाधीन अवस्थामै अलपत्र बनेको एकीकृत बस्तीमा सर्ने सहमति गरेका विजयखर्कका भूकम्पपीडित अहिले २०७२ वैशाख १२ गते गएको भूकम्पले चर्किएका आ–आफ्नै घर मर्मत गरेर बसिरहेका छन् । बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीका भवन व्यक्तिका नाममा पास गरिए पनि भौतिक संरचना तथा सेवा सुविधा नरहेका कारण उनीहरु त्यहाँ सर्ने मनसायमा नरहेको स्थानीय किसन भुजेलले बताए ।

























