
विराटनगर । बंगालको खाडीमा विकसित भएको समुन्द्री आँधी ‘डाना’को प्रभाव नेपालमा पनि देखिएको छ । डानाका कारण कोशी र मधेश प्रदेशमा चिसो हावा चलिरहेको छ । आज रातिदेखि भोलि बिहानसम्म वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आँधी ‘डाना’ को प्रभाव नेपालमा परेको जनाएको छ ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आँधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
‘समुन्द्री आधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ,’ उनले भने,‘ बङ्गालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो । भारतको उडिसा र पश्चिम बङ्गालमा पनि यसको प्रभाव परेको छ ।’
उडिसा र पश्चिम बंगालमा चार लाख बढीलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

























