
काठमाडौं । मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जनपद र प्राविधिकतर्फका २ जना डीआईजीपीलाई एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार जनपदतर्फका डीआईजी किरण राणा सोही समूहतर्फको एआईजीपी पदमा बढुवा गरेर प्रदेश समन्वय विभागको प्रमुख पदमा पस्थापन गरेको छ । आज बढुवा भएकी राणा बिहीबारदेखि अनिवार्य अवकाशमा जानेछिन् ।
प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक डीआईजीपी सुन्दरप्रसाद हैजु सोही सेवा तथा समूहतर्फको एआईजीपीमा बढुवा भएर अस्पतालको निर्देशक पदमा पदस्थापन भएका छन् ।

























