
काठमाडौं । यस वर्ष तिहारमा वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । भोलि (बिहीबार)देखि भाइटीकासम्म ४ दिन मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी क्षेत्रमा स्थानीय वायुको आंशिक प्रभाव छ । वायुको प्रभावका कारण बिहीबार कात्तिक १५ गतेदेखि १८ गतेसम्म वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तिहार हिजैदेखि सुरु भएको छ । कात्तिक १८ गते भाइटीका हो । तिहार अवधिमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुनसक्ने जनाइएको छ ।
महाशाखाका अनुसार आज (बुधबार) पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । आज कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

























