
विराटनगर । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ खनियाबासकी ७२ वर्षीया रत्नकुमारी थापा गत साउन १८ गते घरमै मृत फेला परिन् ।
बीभत्स अवस्थामा शव भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ‘टाइगर’लाई सिन्धुपाल्चोक पठाइयो । कोदोबारीमा भेटिएको ‘फुट प्रिन्ट’को छापलाई पछ्याएर ‘टाइगर’ साढे ३ किलोमिटरसम्म गयो । कुकुरले दिएको त्यो संकेतका आधारमा काठमाडौंको गोंगबुबाट आरोपी पक्राउ परे ।
नुवाकोटको शिवपुरी गाउँपालिका–९ मा ७५ वर्षीया नेत्रकुमारी क्षेत्री मृत भेटिएको घटनामा पनि ‘टाइगर’ले नै आरोपी पत्ता लगायो । घटना २०८० कार्तिक ९ गतेको हो । घटनास्थलबाट १ किलोमिटरको ‘ट्रयाक’मा कुकुर पुग्यो । जसको आधारमा प्रहरी आरोपीलाई समात्न सफल भयो ।
हत्याका दुईवटा घटना अनुसन्धानमा सहयोग गरेको ‘टाइगर’ यसवर्षको सर्वोत्कृष्ट कुकुर घोषित भएको छ । कुकुर तिहारको अवसरमा ‘टाइगर’लाई बिहीबार मेडल प्रदान गरिएको हो । अनुसन्धान गर्ने कुकुर उत्पादन र व्यवस्थापन महाराजगन्जस्थित प्रहरी केनाइन कार्यालयले गर्छ ।
अनुसन्धानमा सहयोगी कुकुर ७ वटै प्रदेशमा राखिएको छ । कुकुरको तालिम र व्यवस्थापनका लागि छुट्टै कार्यालय छन् । देशभर प्रहरीले १ सयवटा तालिमप्राप्त कुकुर राखेको छ ।
अनुसन्धान गर्न ६ प्रजातिका कुकुर प्रहरीसँग छन् । ल्याबराडोर, जर्मन सेफर्ड, बेल्जियन सेफर्ड, गोल्डेन रिट्रिभर, कोकर स्पानियल र बिगल प्रजातिका कुकुरले अनुसन्धान गर्छन् । हत्यारा पत्ता लगाउन ‘ट्रयाकर डग’ प्रयोग गरिन्छ ।
विपद् व्यवस्थापन, उद्धार, लागुऔषध र हत्याको घटनामा पनि अनुसन्धान अधिकृतहरूले कुकुरलाई प्रयोग गर्छन् । महाराजगन्जस्थित प्रहरी केनाइन कार्यालयमा ३६ वटा कुकुर छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ११ वटा कुकुर छन् ।
विमानस्थलमा रहेका कुकुर लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउनसक्ने क्षमता राख्छन् । गत कार्तिक १२ मा एयर इन्डिया एआई–२१६ मा र कार्तिक ६ मा भिस्तारा एयरको विमान बमको सूचना आएपछि प्रहरीले कुकुरलाई प्रयोग गरेर अनुसन्धान गरेको थियो । अपराध अनुसन्धानमा प्रहरीले कुकुर प्रयोग गर्न थालेको २०३२ सालदेखि हो ।

























