
विराटनगर । नेपाल प्रहरीका लागि भरपर्दाे अपराध अनुसन्धान सहयोगी हो, कुकुर । विपद् व्यवस्थापन, उद्धार, लागु औषध र हत्याको घटनामा अनुसन्धान अधिकृतहरू कुकुरको सहयोग लिन्छन् । अपराध अनुसन्धानमा प्रहरीले कुकुर प्रयोग गर्न थालेको २०३२ सालदेखि हो ।
अनुसन्धान गर्ने कुकुर उत्पादन र व्यवस्थापन महाराजगन्जस्थित प्रहरी केनाइन कार्यालयले गर्छ । अनुसन्धानका लागि ७ वटै प्रदेशमा कुकुरको युनिट राखिएको छ । युनिटले कुकुरको तालिम र व्यवस्थापनको काम गर्छ । देशभर प्रहरीले १ सय वटा तालिमप्राप्त कुकुर राखेको छ ।
यसरी अपराध अनुसन्धानमा ट्रयाक गर्न प्रयोग गरिने कुकुर ६ देखि ७ वर्षसम्म मात्रै काम गर्न सक्छन् । अनुसन्धानका लागि ट्रयाक गरेर प्रहरीले संकेत दिन्छ । बुढो भएपछि अनुसन्धानमा खट्न सक्दैनन् ।
विस्फोटक पदार्थबारे अनुसन्धान गर्ने कुकुर भने धेरै समय काम गर्न सक्छन् । अनुसन्धानमा प्रयोग गरिने कुकुरसँग २५० मिलियन सेल्स हुन्छ । सामान्य कुकुरमा त्यति धेरै सेल्स हुँदैन ।
कुकुर बुढो भएपछि प्रहरीले नै व्यवस्थापन गर्छ । जसका लागि कार्यविधि नै बनाएको छ ।
अनुसन्धानमा प्रयोग गरिने कुकुर बुढो भएपछि ह्याण्डलरलाई जिम्मा लगाउने, प्रहरीका परिवारलाई दिने र सूचना निकालेर सर्वसाधारणलाई समेत प्रहरीले जिम्मा लगाउँछ । रिटायर्ड भएका कुकुरलाई घरमा लगेर राख्ने र पालन पोषण गर्ने पहिलो हकदार सम्बन्धित कुकुरको ह्याण्डर नै हुन्छन् ।

























