
विराटनगर । आईसीसी विश्वकप लिग २ मा नेपाली टोली अमेरिकासँग पुन ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित भयो । पहिलो खेलमा पनि नेपाल अमेरिकासँग पराजित भएको थियो ।
अमेरिकाको डालसमा रहेको ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४९.५ ओभरमा अलआउट भयो ।
नेपालका लागि ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे । ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।
टस जितेर बलिङ रोजेको नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २, २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।
अमेरिका लागि तीन खेलाडीले अर्धशतक बनाए । साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन बनाए । कप्तान मोनाक पटेलले ६७ र हर्मित सिंहले ५९ रन योगदान गरे ।
पहिलो खेलमा पनि अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । सोमबार नेपालले स्कटल्यान्डसँग खेल्नेछ ।

























