
रसुवा । ५ दिनदेखि बेपत्ता भएका चर्चित पर्वतारोही भेटिएका छन् । तर, हिमालको खोँचमा भेटिएका उनको उद्धार सम्भव भइरहेको छैन ।
लाङटाङ हिमाल आरोहणका लागि गएका स्लोभाकियन नागरिक ३४ वर्षीय ओनरेज हुसर्के ५ दिनदेखि हराइरहेका थिए । प्रहरीका अनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका–३ स्थित हिमालको खोँचमा उनी भेटिएका हुन् ।
समुन्द्र सतहदेखि ७ हजार मिटरभन्दा धेरैको उचाइमा रहेको हिमालको ३० मिटरभन्दा बढी गहिरो खोँचमा फेला पारिएको रसुवा प्रहरी प्रमुख डीएसपी केशव भट्टराईले बताए । हवाई उद्धारका लागि गएको टोलीले लगाएको लुगा, स्लिपिङ ब्यागलगायतका आधारमा पर्वतारोहीको पहिचान गरेको हो ।
तर, उद्धारमा भने समस्या भइरहेको डीएसपी भट्टराईले बताए । खोँचमा फसेका कारण विशेषज्ञ टोली गएर मात्रै उद्धार गर्ने सम्भवना नरहेको उनको भनाइ छ ।
खराब मौसमका कारण त्यसतर्फ हेलिकप्टरसमेत जान सकेको छैन । लाङटाङ हिमालमा हराएका हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही हुन् ।
हराइरहेका अर्का पर्वतारोही चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का भने सम्पर्कमा आएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलाको उद्धार भएको छ ।

























