
विराटनगर । जेलबाट दुई पटक भागेका कर्तब्य ज्यान मुद्दाका दोषीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
२०७२ सालदेखि फरार रहेका इनरुवा नगरपालिका १० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले पक्राउ गरेको हाे । उनलाई पक्राउ गर्दा प्रहरीले एक राउण्ड गोली पनि चलाएको थियो ।
२०६५ साल वैशाख १६ गते सुनसरी साविक प्रकाशपुर– ६ का ३९ वर्षीय केशव कार्कीको विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले गोली हानी हत्या गरेका थिए । सो घटनामा संलग्न भएका विनायक एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ परेका थिए । जिल्ला अदालत सुनसरीले उनलाई २० वर्ष ८ महिना १४ दिन कैदको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि थुनामा रहेका उनी २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका थिए । उनीसँगै अन्य १२ जना सुरुङबाट भागेका थिए ।
यादवलाई प्रहरीले सप्तरीले गोबरगाड़ाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागी पठाएको थियो । तर, त्यहाँबाट पनि उनी भागे । २०७२ वैशाख १२ गते भूकम्प आएका बेला उनी कारागारबाट भागेका थिए ।
मधेसी मुक्ती टाइगरमा समेत आवद्ध रहेका उनी सिन्धुपाल्चोकबाट भागेपछि भारतको सुपोलमा गएर बसेका थिए । बेलाबेला नेपाल आउने यादवलाई छठ पूजा मनाउनका लागि नेपाल आउँदै गरेको अवस्थामा कोशी गाउँपालिका– ८ स्थित पथरचट्टान भन्ने ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।
प्रहरीलाई देखेपछि भाग्न खोजेका यादवलाई प्रहरीले गोली चलाएको थियो । भाग्न खोजेपछि घुँडामुनि ताकेर एक राउण्ड फायर गर्दा उनी आत्तिएर लडेका थिए । तर, उनलाई गाेली लागेन ।
यादवलाई बाँकी सजाय भुक्तानका लागि कारागार चलान गरेको डीएसपी तिमल्सिनाले बताए । उनले अब भुक्तान हुन बाँकी रहेको सजायको डेढी सजाय भोग्नु पर्नेछ । कारागार ऐन २०१९ को दफा २४ को ३ मा ‘कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई सजाय हुने’ प्रावधान छ ।’

























