
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) अजरबैजान जाँदै छन् ।
अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) कात्तिक २६ गते सोमबारबाट सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन अजरबैजानका राष्ट्रपति इलहम अलियभल गरेको निमन्त्रणाका आधारमा राष्ट्रपति पौडेल बाकु प्रस्थान गर्ने भएका हुन् ।
नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु पुगेर पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना मुद्दामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।
सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटनाका कारण आएको बाढी पहिरोबाट पुगेको क्षतिबारे बैठकमा पौडेलले जानकारी गराउने छन् । सम्मेलन आगामी मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने बताइएको छ ।

























