
काठमाडौं । चीन र अमेरिकाका लागि नेपाली राजदूत आइतबार नियुक्त गरिएको छ । प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत नियुक्त गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा नेपाली राजदूत नियुक्त गरेका हुन् । ओली र रेग्मीको यसअघि नै संसदीय सुनुवाइ भइसकेको छ । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि राजदूत नियुक्त गरिएको हो । सरकारले यसअघिका राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको थियो । त्यसयता चीनमा नेपाली राजदूत पद रिक्त थियो ।
चीनको नयाँ राजदूत नियुक्त भएका ओलीले अब चीन पुगेर प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक तयारी गर्ने बताइएको छ । प्रधानमन्त्री ओली यही डिसेम्बर महिनामा चीन भ्रमणमा जाने छन् ।
चीनले भ्रमणको निम्ता पठाइसकेको भए पनि नेपाल सरकारले प्रधानमन्त्रीको भ्रमणको यकिन मिति सार्वजनिक गर्न बाँकी छ । स्रोतका अनुसार चीनअघि प्रधानमन्त्री ओलीले भारत भ्रमण जान चाहेका थिए । तर, भारतले चासो नदिएपछि चीन भ्रमणमा जाने तयारी गरेको उनीनिटक स्रोतले बतायो ।

























