
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार स्वदेश फर्किएका छन् । अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर उनी स्वदेश फिर्ता भएका हुन् ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कात्तिक २५ गते बाकु गएका थिए । अजरबैजानबाट कतारको राजधानी दोहा हुँदै राष्ट्रपति पौडेल नेतृत्वको टोली आज स्वदेश फर्किएको हो ।
राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यस क्रममा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नुपरेको समस्याका बारेमा विश्वमाझ जानकारी गराएका थिए।
विश्वमै जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्यो नेपाल पर्छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । कात्तिक २६ गतेबाट सुरु भएको सम्मेलन मंसिर ७ गतेसम्म सञ्चालन हुने छ ।

























