
झापा । झापामा मोटरसाइकलको ठक्करबाट शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।
इलामको रोङ गाउँपालिका–३ कोलबुङका ५५ वर्षीय इन्द्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पैदल हिँडिरहेका गुरुङलाई बाटो क्रस गर्दै गरेको अवस्थामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका–१० टीकापुरमा साँझ ६ः२० बजेतिर मे ६ प ३१७९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–७ का ५२ वर्षीय गणेश राजवंशी पनि घाइते भएका छन् ।
सामान्य अवस्थाका उनको प्रहरीकै निगरानीमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























