
काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको छ।
उनको आइतबार दिउँसो निधन भएको थियो । पशुपति आर्यघाटमा सोमबार अपरान्ह अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरूले दागबत्ती दिएलगत्तै नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको थियो।
उनको अन्तिम बिदाइमा मन्त्री, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न दलका नेता कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । अन्त्येष्टिअघि ढुंगानको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखेको थियो। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सोमबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय लिएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण उपचाररत ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको हो ।
त्यसपछि उनको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । सानो गौचरणमा श्रद्धाञ्जलिपछि पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरियो ।
विक्रम संवत २०४८ सालमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०५१ सम्म नेपालको सभामुख बनेका थिए । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

























