कोशीमा सवारीसाधनलाई ‘टाइम कार्ड’ लागू गर्न ट्राफिकको सुझाव

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३, सोमबार १९:१४

विराटनगर । कोशी प्रदेशमा सार्वजनिक सवारीसाधनलाई ‘टाइम कार्ड’ लागू गर्न ट्राफिक प्रहरीले सुझाव दिएको छ ।

सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना अत्यधिक बढेपछि ‘टाइम कार्ड’ लागू गर्नुपर्ने निष्कर्षमा ट्राफिक प्रहरी पुगेको हो । सवारीसाधनलाई व्यवस्थित गर्ने विषयमा छलफल गर्न सोमबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख एसपी सुमन तिम्सिना, कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरे, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारी, यातायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठलगायतका सरोकारवालाबीच छलफल भएको थियो ।

प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी घिमिरेले ‘टाइम कार्ड’ लागू गर्न सके मात्रै सवारीसाधनको गति नियन्त्रण सम्भव हुने बताए । ‘सवारीसाधन तीव्र गतिमा कुदाइँदा दुर्घटना बढेको छ । ‘टाइम कार्ड’ लागू गर्न सकिए दुर्घटना न्यूनीकरणमा मद्धत पुग्छ । ट्राफिक व्यवस्थापन चुस्त बनाउन सम्भव हुन्छ,’ उनले भने ।

विराटनगरतर्फ आउँदै गरेको नागरिक यातायातको मे १ ख ७५७४ नम्बरको बसको ठक्करबाट सुनसरीको खनारमा आइतबार १३ वर्षीया सजना यादवको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोसित बनेको भिडले बसमा आगजनी गरेको थियो । आक्रोसित भिड ढुंगामुडा गर्दै प्रदर्शनमा उत्रिएर माहोल अशान्त बनेपछि नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको थियो ।

भिड नियन्त्रणका क्रममा नेपाल र सशस्त्र प्रहरीका एसपीसहित २१ जना प्रहरी सामान्य घाइते भएका थिए । कोशी राजमार्गअन्तर्गत खनार क्षेत्रको सडक करिब ६ घण्टा अवरुद्ध बनेको थियो ।

‘दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेबारेमा सरोकारवालाबीच छलफल भएको छ । ‘टाइम कार्ड’ लागू गर्ने प्रस्ताव हामीले गरेका छौं । केही समयभित्रै सुनसरी, मोरङ र झापाका सुरक्षा अधिकारीसहित सरोकारवालाको बैठक बसेर यस विषयमा निष्कर्षमा पुगिने छ,’ एसपी घिमिरेले भने ।

सडक सुरक्षामा ट्राफिक प्रहरी सचेत रहेको र यसमा सबै सरोकारवालाले साथ दिनुपर्ने उनको भनाइ छ । ‘सडकमा सवारीसाधनको चेकजाँच बढाइएको छ । नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने । दुर्घटना न्यूनीकरणका लागि सवारी चालकदेखि पैदलयात्रीसम्मलाई प्रशिक्षण दिने गरिएको घिमिरे बताउँछन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.