
काठमाडौं । बचत फिर्ता नपाएका सहकारीपीडितले आफूहरु लुटिएको गुनासो गर्दै सरकारसँग गुहार मागेका छन् ।
काठमाडौंमा बुधबार प्रदर्शन गर्दै उनीहरुले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो । गुहार ! गुहार !’ भनेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा पीडितहरु आन्दोलित भएका छन् ।
सहकारीका बचतकर्ताको अर्बौं रूपैयाँ फिर्ता हुन सकिरहेको छैन । पीडितहरुले सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकमा प्रदर्शन गरेका छन् । उनीहरुको र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको छ ।
सहकारीपीडितले ‘पाकेन भात सहकारी पीडितहरुको चुलोमा, न्याय मर्यो सरकार तिमी छौ कुन दुलोमा ?’, नेपालभरिका सहकारी पीडितहरु एक हौं’लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरुले पीडितको रकम तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।

























