
विराटनगर । स्थानीय तहको आगामी उपनिवार्चनका लागि उम्मेदवार बनेर मनोनयन दर्ता गराएकामध्ये ३ सय ७९ (३७९) जनाको मात्रै उम्मेदवारी कायम भएको छ ।
विभिन्न ४४ पदमा मंसिर १६ गते हुने निर्वाचनका लागि ४ सय १० जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले बुधबार राति निकालेको विज्ञप्ति अनुसार ३१ जनाले फिर्ता लिएका छन् ।
उम्मेदवारी कायम भएकामध्ये ३ जना निर्विरोध निर्वाचित भइसकेका छन् । अब ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा छन् । उनीहरुले बुधबार नै चुनाव चिन्ह पाए ।
ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई एवं टीका कुमारी चौधरी (भुल) तथा रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइस्केको आयोगले जनाएको छ ।
जिल्ला समन्वय समति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदमा विभिन्न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्रले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका थिए । तीमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (बीपीं) नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा दलले कतै पनि उम्मेदवारी दर्ता गरेका छैनन् ।
कायम भएको उम्मेदवारको संख्या ३७९ हुनुपर्नेमा यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ । स.

























