
काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डामा नेपाल र भारतका सेना प्रमुखबीच आज (बिहीबार) वार्ता भएको छ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीबीच वार्ता भएको हो ।
दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर द्विपक्षीय वार्ता भएको सैनिक मुख्यालयले जनाएको छ । सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ ।
त्यसअघि भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले उनको सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसअवसरमा भारतीय सेनाध्यक्षले जंगी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए । उनले सैनिक मञ्च टुँडिखेल रहेको वीर स्मारकमा पुष्पहार अर्पणसमेत गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । गत असार १६ गते भारतको सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो ।
उनले शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।
सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलोपटक भारतीय सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो ।
छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ । प्रधान सेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी ५ दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका हुन् ।

























